Lifestyle

बाख्रालाई जबरजस्ती करणी

बुटवल, २५ साउन । शुक्रबार जिल्ला प्रहरी कार्यालय दाङले एक पत्रकार सम्मेलन गर्यो । आर्थिक वर्ष २०७५/०७६ मा वर्षभरि परेका मुद्दा संख्या, पर्छ्याैटसहित प्रहरीले गरेका गतिविधि सार्वाजनिक गर्ने क्रममा जबरजस्ती करणीको विवरण पनि प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले प्रस्तुत गरे ।

एसपी बेलबहादुर पाण्डेका अनुसार जबरजस्ती करणीका उजुरी बढ्दै गएका छन् । एक ठाउँमा पुरुषद्वारा बालकलाई अप्राकृतिक मैथुन र अर्को एक पुरुषद्वारा बाख्रालाई जबरजस्ती करणी गरेको भेटियो । महिला पत्रकारका सामु त्यसबारे थप चासो राख्न पुरुष पत्रकारहरुले समेत अफ्ठ्यारो माने र थप प्रश्न साेधेनन् ।

पाण्डेले प्रस्तुत गरेकाे विवरणअनुसार २०७५ को साउन १ गते देखि २०७६ को असार मशान्त सम्म दाङमा पुरुषद्वारा ६२ जना महिला बलात्कारमाथि जबरजस्ती करणीका घटना भएका छन् । त्यसबाहेक २२ जना महिलालाई जबरजस्ती करण उद्योग गरिएको उजुरी छ । थप ८ वटी बालिकालाई यौन दुरुपयोग गरिएको छ । दुई वटा अप्राकृतिक मैथुनका मुद्धामध्ये एक जना पुरुषले १३ बर्षीय बालकमाथि याैन दुर्व्यवहार गरेको आरोप छ ।

पछि फोन गरेर सोध्दा एसपी पाण्डेले भने– ‘गत कार्तिक २ गते तुल्सीपुर उपमहानगरपालिका– ४ मजुवाका ३८ बर्षीया अमृत परियारले छिमेकी छोटीलाल परियारको गोठमा बाँधेको बाख्रालाई जबरजस्ती करणी गरेका हुन् । उनी पुर्पक्षका लागि थुनामा रहेका छन् ।

थाह पाए बलात्कार नत्र सत्कार

बलात्कार मुद्दामध्ये कतिपय घटनामा प्रहरी प्रमुख पाण्डेको विश्लेषण यस्तो छ– आपसमा माया-प्रेम गर्ने, शारीरिक सम्पर्क राख्ने । त्यतिन्जेलसम्म एकले अर्कोलाई ‘सत्कार’ गरेकाे ठान्छन् । तर जब परिवार र सामाजले थाहा पाउँछ तब भने ‘बलात्कार’काे मुद्दा बन्ने गरेका छन् ।

त्यस्तै देह व्यापारको मोलमोलाइ नमिलेपछि पनि बलात्कारकाे मुद्दा बन्ने गरेको छ । अर्को कुरा मुलुकी संहिता २०७४ ले १८ वर्षमुनिका किशोरीसँग राजीखुशीमा शारीरिक सम्पर्क भए पनि स्वतः जबरजस्ती करणी गरेकाे मानिने प्रावधान लागू भएर पनि पछिल्लाे समय बलात्कारका मुद्दा बढेका हुन् । एकवर्षे हदम्यादले पनि जबरजस्ती करणी मुद्दा बढ्नुमा योगदान पुर्याएएको पाण्डेकाे भनाइ छ ।

आत्माहत्याकाे कारक- यौन विचलन

पाण्डेका अनुसार पछिल्लो आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालयमा परेका कुल ९ सय ५७ मुद्दामध्ये २ सय ९ वटा आत्महत्याका मुद्दा थिए । महिला आत्महत्याको संख्या बढी छ । उनीहरुले आत्महत्या गर्नुको कारण श्रीमान विदेशमा हुनु र यता यौन विचलन रहनु अनि समाजले थाहा पाएपछि बदनाम भइनु जस्ता कारण रहेका छन् ।

त्यस्तै मोबाईल फोनको दुरुपयोग, अनमेल प्रेम सम्बन्ध, गरिबी-अभाव, विभिन्न असाध्य रोग, बालविवाह, अन्तरजातीय विवाह पनि आत्महत्याको कारक मानिएको एसपी पाण्डेको ठम्याइ छ ।