Lifestyle

गुडिरहेकाे बसले अन्य ३ बसलाई ठक्कर दियो

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३, गठ्ठाघर आकाशे पुलमुनि एक बस अनियन्त्रित भई तीन बसलाई ठक्कर दिएको छ । काठमाडौँबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ४ ख ५७९४ नं. को बस आफैँ अनियन्त्रित भई सोही दिशा तर्फ जाँदै गरेका बा ३ ख ७०९३, बा ५ ख ४०२९ र ना ६ ख ७१८५ नं. का तीनवटा बसलाई ठक्कर दिएको हो । बसले अन्य बसलाई ठक्कर दिँदा १६ जना यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये १३ जनाको नागरिक अस्पताल, गठ्ठाघर र तीनजनाको मध्यपुर अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

दुर्घटनामा परेका चारवटै सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी प्रभाग, गठ्ठाघरको नियन्त्रणमा राखिएको छ ।
ठक्कर दिने बस चालक सिन्धुली गोलानचोर गापा– ६ घर भई हाल काठमाडौँ ताहचल बस्ने ३० वर्षीय दीपकराज ठकुरीलाई महानगरीय प्रहरी वृत्त ठिमीको नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो ।