News

यिनै हुन नेपाली वैज्ञानिक भवीन्द्र जसले ४३२ बर्ष पछि महान वैज्ञानिक ग्यालिलियोको अधुरो सपना पुरा गरे !

भौतिक विज्ञानमा स्थापित विभिन्न मान्यताहरुको अपूर्णताका विषयमा विभिन्न खोज तथा अनुसन्धान गर्दै आएका युवा वैज्ञानिक भविन्द्र कँुवरले हालै विज्ञानको अर्को जटिल समस्याको समाधान गरेका छन् ।म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटमा जन्मेका कुँवरले दुर्यान्तर, प्रदुर्यान्तर र सुव्रत समीकरणको प्रयोगबाट पिण्डको चालमा हुने सबैखाले उतारचढावको सही मापन गर्न सकिने सुव्रत समीकरण पहिल्याएका हुन् ।काठमाडौँ रिसर्च एण्ड पब्लिकेसन्समा गरिएको पछिल्लो परीक्षणबाट ती भौतिक शास्त्रीय परिमाणले सुक्ष्मदेखि स्थूल तहका सबै समयखण्डहरुमा एक्युरेट रिजल्ट दिन सक्ने थाहा हुन गएको हो । यसबाट भौतिक विज्ञानमा वर्षौँदेखि समाधान हुन नसकेर रहेको जटिल समस्या समाधान भएको छ ।

भौतिक विज्ञानमा समयको सबैभन्दा सानो मानिने प्लाङ्क समय एकाइदेखि योट्टा सेकेण्ड वा सोभन्दा ठूला तहमा हुने परिवर्तनलाई समेत पहिल्याउन सुव्रत समीकरणहरु सक्षम भएको देखिएको हो । हालसम्मका वैज्ञानिक अध्ययनले बढ्दो गतिमा भएका त्यति साना परिवर्तनहरुको वास्तविक मापन गर्न सकेको थिएन । आजसम्मका कुनै पनि वैज्ञानिक अनुसन्धानबाट भौतिकीले यति धेरै मसिना परिवर्तनहरुको वास्तविक मापन गर्ने बलियो आधार प्राप्त गर्न भ्याएको थिएन, विगत दुई दशकदेखि निरन्तर अनुसन्धान गरिरहेका वैज्ञानिक कुँवरले भन्नुभयो ।

कुँवरका अनुसार दुर्यान्तर र प्रदुर्यान्तरको अन्तर्निहित भूमिकाका कारण सबै तहमा हुने परिवर्तनको मापन गर्न सुव्रत समीकरणहरु सक्षम भएका हुन् । ती समीकरणहरुले पिण्डका अत्यन्तै साना खण्डका गतिविधि र परिवर्तनलाई सहीरूपमा मापन सक्छन् कि सक्दैनन् भन्ने कुराको खोजी गर्दै जाँदा सो तथ्यबारे थाहा हुन गएको हो, कुँवरले पछिल्लो अनुसन्धानको पृष्ठभूमिबारे स्पष्ट पार्दै भन्नुभयो ।

एकनासले बढ्दो गतिमा रहेको वस्तुले पार गरेको वास्तविक दूरीलाई सोही वस्तुकै गति वा वेगका आधारमा सही मापन गर्न सक्ने सूत्रहरु यसअघि नबनेको खोजकर्ता कुँवरले बताउनुभयो । बढ्दो वा घट्दो गतिमा रहेको पिण्डले पार गरेको दूरीका आधारमा सुक्ष्म परिवर्तन थाहा पाउने वास्तविक उपाय फेला पार्न सकिएको थिएन, कुँवरले भन्नुभयो, “योट्टा सेकेण्डमा र सबैभन्दा सानो मानिने प्लाङ्क समय एकाइमात्र नभई तीभन्दा ठूला वा साना खण्डमा हुने परिवर्तनको अध्ययन गर्न पहिलेका सूत्रहरु सक्षम थिएनन् ।”

भौतिक विज्ञानमा सानोदेखि ठूलो समयान्तरालका चालसम्बन्धी समस्याका लागि सुव्रत समीकरणहरुको प्रयोग गरिँदै आएको देखिन्छ भने डिफ्रेन्सियल क्याल्कुलस र इन्टिग्रल क्याल्कुलसको प्रयोगबाट समेत त्यस्ता प्रयासहरु गरिएको देखिन्छ । तर सही समाधान निकाल्न नसकेका कारण ती सबै प्रयासहरु पाठ्यक्रममा रहे पनि अन्ततः प्रयासकै रुपमा प्रचलनमा आएको कुँवर बताउनुहुन्छ ।सन् १५६४ मा इटालीमा जन्मिएका महान् वैज्ञानिक ग्यालिलियोले २० वर्षको कलिलो उमेरमा भौतिक शास्त्रका क्षेत्रमा एउटा परीक्षण प्रयास थालेका थिए । त्यसपछिका न्युटन, एलम्बर्ट, इउलर, ह्यामिल्टन, आइन्स्टाइनजस्ता वैज्ञानिकले आफ्नो जीवनको धेरैजसो भाग त्यही प्रयासको वरिपरि बिताउँदा पनि समस्या सल्टिन सकेको थिएन ।

ग्यालिलियोको योगदान के थियो ? खगोलशास्त्री तथा वैज्ञानिक ग्यालिलियो जन्मिनुभन्दा झन्डै दुई दशकअघि सन् १५४५ मा ‘अरस्तुको भौतिक शास्त्र’ शीर्षकको एउटा पुस्तक प्रकाशन गरिएको थियो । उक्त पुस्तकका लेखक ‘डोमिंगो डे सोटो’ थिए । सोटोले उक्त पुस्तकमा कुनै परिमाणको बल लगानी भएका बेला वस्तुमा देखिने चालका बारेमा अरस्तुले दिएको धारणाबारे उल्लेख गरेका थिए ।

‘अरस्तुको भौतिक शास्त्र’ प्रकाशन भएको दुई दशकपछि ग्यालिलियोको जन्म भएको थियो । आफू २० वर्षको हुँदा ग्यालिलियोले वस्तुलाई छड्के सतहमा गुडाएर ऐतिहासिक परीक्षण गरेका थिए । उनले गरेको उक्त परीक्षणलाई भौतिक शास्त्रीले विशेष महत्वका साथ लिने गर्दछन् । परीक्षणपछि ग्यालिलियोले दिएको सूत्रलाई यान्त्रिकीको एउटा शाखा किनेम्याटिक्सअन्तर्गत राखी अध्ययनअध्यापन गराइन्छ ।

ग्यालिलियोको सूत्रअनुसार प्रवेग र वर्गसमयको गुणनफलको आधा मात्रा विस्थापनको जम्मा मात्रासँग बराबर हुन्छ । पिन्डको सन्दर्भ नउठाइए पनि उनको यस मान्यतामा विस्थापनलाई बलसापेक्ष विषय मानिएको छ । ग्यालिलियोले २० वर्षको कलिलो उमेरमा मूलतः गुरुत्वप्रवेगबारे जानकारी गराएका थिए र त्यसकै आधारमा विस्थापनको सूत्र बनाएका थिए ।

कुँवरले भन्नुभयो, “उक्त सूत्रको प्रयास पूर्ण नभएका कारण उक्त सूत्रले दिने विस्थापनको नतिजा वास्तविक विस्थापनभन्दा धेरै नै कम हुन पुग्दछ । भौतिकशास्त्रका लागि ग्यालिलियोले दिएको यो महान् योगदानलाई न्युटन, ह्यामिल्टन, इउलर र आइन्स्टाइनले पनि गम्भीरताका साथ अध्ययन र प्रयोग गर्नुपर्दथ्यो । त्यसो नगरेका कारण भौतिक शास्त्रको जगमा डरलाग्दो समस्या निम्तिन पुग्यो ।”

भौतिक विज्ञान स्वतन्त्र विषय नहुँदै पुस्तक प्रकाशन गरेका वैज्ञानिकले ग्यालिलियोको योगदानको गहन अध्ययन गर्नुपर्ने धारणा कुँवरको छ । भौतिकशास्त्रको इतिहासको समीक्षा गर्दै कुँवरले भन्नुभयो, “उनीहरुले उक्त सूत्रलाई प्रवद्र्धन गर्न, विकास गर्न र प्रयोगयोग्य गराउनतिर धैर्यतापूर्वक समय दिएको देखिएन । समयमै ग्यालिलियोको योगदानको मूल्याङ्कन र यथोचित सदुपयोग नहुँदा विज्ञानप्रेमी र अध्येता झन्डै चार शताब्दीदेखि सही जानकारीबाट वञ्चित हुन पुगेका छन् । यसले हजारौँ अनुसन्धानलाई प्रभावित गरेको छ ।

यो समस्यामा कुँवरको ध्यान किन गयो ? : विसं २०५५ देखि एउटा यन्त्र बनाउने योजना बनाइरहँदा त्यसका लागि आवश्यक शक्ति मापन गर्न विस्थापनको प्रचलित सूत्रले काम नगरेपछि उनी हैरान थिए । त्यसपछि २०६० तिर बागलुङको ग्यालेक्सी इन्जिनियरिङ वर्कसपमा दिउँसो पढाउने र साँझमा यन्त्र बनाउने गर्न थाले । त्यतिबेला कुनै निष्कर्ष निस्किन सकेको थिएन । कुँवरको ०६७ मा प्रकाशित एउटा पुस्तकमा भौतिकशास्त्रमा वर्गसमयको त्रुटिपूर्ण प्रयोग भएको उल्लेख छ ।

जम्माजम्मी सातसय १८ पृष्ठको उक्त पुस्तकका केही खण्डमा उनले एकाई समयमा देखिने दूरी परिवर्तन दरको प्रयोगबारे पनि उल्लेख गरेका छन् । यस विषयमा केही प्रवचन कार्यक्रम पनि सम्पन्न भएका थिए । पछि उनले त्यसकै आधारमा दुर्यान्तर पत्ता लगाएका थिए ।

भौतिकशास्त्रका सयौँ सूत्रमा समस्या भएको थाहा पाएपछि त्यसको वास्तविक कारण पहिल्याउनु उनका लागि चुनौती हुन गएको थियो । कारण पहिलिएपछि समाधान पहिल्याउन फेरि चुनौती थपिन पुगेको थियो । समयक्रमसँगै वास्तविक समाधान समेटिएका अनुसन्धानपत्र पनि सम्पन्न गर्न उनी सफल भएका थिए । सरल र अकाट्य समाधानको निष्कर्षमा पुगी त्यसलाई परीक्षण गरे । “तर जोकोहीले अध्ययन गर्न मिल्ने गरी अनुसन्धानपत्र प्रकाशित गर्नुपर्ने भयो । त्यसो नगरेसम्म के गरेको हो भन्ने कुरा सबैलाई थाहा नहुने भयो । त्यसैले थप जानकारी मिलोस् भन्ने अभिप्रायले ‘सुवातदेखि सुव्रतसम्म’ र ‘सुव्रतका केही प्रभावहरु’ शीर्षकका दुईवटा अनुसन्धानपत्र प्रकाशित गरेँ”–कुँवरले बताए ।

खोजकर्ता कुँवर भन्छन्–“कुनै तथ्य परीक्षणबाट सिद्ध भइसकेपछि यस विषयबारे सबैलाई जानकारी गराउनतिर नलागी व्यक्तिगत र पारिवारिक सुखमा समय दिनतिर मन लागेन, कसैले पनि यसो गर्नु हुँदैन । त्यसो गरियो भने सम्पूर्ण मानवजाति र मानवपुस्ताका लागि गरिएको अक्षम्य अपराध हुनजान्छ ।”

महान् वैज्ञानिक आर्किमिडिजको प्रसङ्ग उल्लेख गर्दै कुँवरले भने–“आर्किमिडिजको व्यवहारले हामीलाई सत्य भेटियो भने अरूलाई बताउन नबिर्स, बरु कपडा लगाउन बिर्से पनि केही हुँदैन भन्ने सिकाएको छ । आर्किमिडिजले नयाँ कुरा पत्ता लगाएपछि अरूलाई त्यसबारे बताउनका लागि कपडा नलगाई नाङ्गै दौडिएका थिए ।”