News

रोहित शर्मा रेकर्डबाट चुके, भारतको टपअर्डर ध्वस्त, सुरुवाती तीन ब्याट्सम्यान १–१ रनमै आउट





काठमाडौं। विश्वकप क्रिकेटको सेमिफाइनलमा न्यूजिल्याण्डविरुद्धको खेलमा रोहित शर्माले सचिन तेन्दुलकरको विशाल विश्वरेकर्ड तोड्ने अपेक्षा गरिएको थियो । तर, रोहितले यो खेलमा त्यो रेकर्ड तोड्न असफल रहे । उनी १ रनमै आउट भए । 

एक विश्वरेकर्डमा सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यानको रेकर्ड सचिन तेन्दुलकरको नाममा छ । उनले २००३ को विश्वकपमा ६७३ रन बनाएका थिए । आजको खेलअघिसम्म रोहित शर्माले ६४७ रन बनाएका थिए र उनी सचिनको रेकर्ड तोड्न मात्रै २७ रन पछाडि थिए । रोहितले आज त्यो रेकर्ड तोड्ने अपेक्षा गरिएको थियो तर उनी एक रनमै म्याट हेनरीको बलमा विकेटकिपरको हातबाट क्याच आउट भए । 

रोहितले विश्वकपमा सचिन तेन्दुलकरको अर्को रेकर्ड ६ शतकसँग बराबरी गरिसकेका छन् । आजको खेलमा उनीसँग त्यो रेकर्ड पनि एक्लै आफ्नो नाममा बनाउने अवसर थियो । तर, उनी त्यो अवसरबाट पनि चुके । यद्यपि आज भारतले जितेको खण्डमा उनले फाइनलमा अर्को एक अवसर भने पाउनेछन् । 

फाइनलमा अवसर हुने भए पनि भारतको इनिङ सुरुवातमै धर्मराइसकेको छ र उसलाई आजको खेल जित्न कठिन भइसकेको छ । रोहितमात्र नभइ अर्का ओपनर लोकेश राहुल र कप्तान विराट कोहली पनि १–१ रनमै आउट भएका छन् । कोहली ट्रेन्ट बोल्टको बलमा एलबीडब्लु आउट भए । यो विकेटमा भारतले रिभ्यु लिएर असफल हुँदै एकमात्र रिभ्यु पनि गुमाइसकेको छ । अर्का ओपनर लोकेश राहुल म्याट हेनरीको बलमा विकेटकिपरको हातबाट क्याच आउट भए । डिसी नेपाल  बाट