News

भारतको चर्को दवावपछि विषादी जाँच नगर्ने मन्त्रिपरिषदको निर्णय…





काठमाडौँं– भारतको चर्को दवावपछि सरकारले भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने पूर्ववत आफ्नै निर्णय परिवर्तन गरेको छ । सीमा नाकामा फलफुल तथा तरकारीको विषादी जाँच गरेरमात्रै नेपाल ल्याउने यसअघिको निर्णयप्रति भारतीय पक्षले असन्तुष्टी जनाउँदै उक्त निर्णय फिर्ता गर्न चर्को दवाव दिँदै आएको थियो । भारतीय दूतावासले नेपालका सरकारी अधिकारीलाई विषादी परीक्षण नगर्न दिएको दबाबपछि आफ्नो निर्णबाट पछि हटेको हो ।बिहीबार बसेको मन्त्रि परिषद् बैठकले सीमा नाकामा विषादी जाँच नगर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

पूर्वएमाले निकट ती मन्त्रीका अनुसार बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी जाँच नगर्ने ठाडो प्रस्ताव लगेका थिए । ‘हाम्रो राष्ट्रवाद कस्तो हो भन्ने यसैबाट बुझिन्छ । यो भन्दा अरु के भन्न सकिन्छ र !’ व्याङ्ग्यात्मक शैलीमा ती मन्त्रीले भने, ‘जतिसुकै ठूला र चर्का कुरा गरेपनि भारतको दबाब थेग्न मुस्किल रहेछ ।’ मन्त्रिपरिषद्को यो निर्णयसँगै भन्सार नाकामा शुक्रबारबाटै भारतबाट नेपाल भित्रिने तरकारी र फलफुल जाँच नगरी नेपाल पठाउन सर्कुलर जारी गरेको भन्सार विभागका एक उच्च अधिकारीले बताए । गत जेठ १० गतेको मन्त्रिपरिषद् बैठकले भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी र फलफूल परीक्षण गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयका आधारमा असार २ गतेदेखि भारतबाट नेपाल आउने तरकारी र फलफूलको विषादी परीक्षण सुरु भएको थियो । कालीमाटी बजारमा आउने तरकारी तथा फलफूल ४० प्रतिशत भारतबाटै आउँछ । बाँकी ६० प्रतिशत बजार स्थानीय उत्पादनले ओगटेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा २६ अर्ब ४६ कोड ७५ लाख रूपैयाँ बराबरको तरकारी र १७ अर्ब ३ करोड ९६ लाखको फलफूल आयात भएको छ भने नेपालबाट यही अवधिमा १ अर्ब २२ करोड ९९ लाख बराबरको मात्र तरकारी तथा फलफूल निर्यात भएको रेकर्ड छ । सिधा अनलाइन खबर बाट