News

तयार भयो सामसुङको फोल्डिङ मोबाइल

सामसुङले आफ्नो पहिलो फोल्डिङ स्मार्टफोन तयार भएको घोषणा गरेको छ। कम्पनीका अनुसार उक्त फोन दुई महिनाभित्र बजारमा आउनेछ । यसअघि नै लन्च गर्ने भनिएको उक्त सेटको स्क्रिनमा खराबी देखिएपछि सार्वजनिक हुने मिति पछि धकेलिएको थियो। सामसुङले स्क्रिनमा देखिएको समस्या समाधान गरिएको जनाएको छ। प्रतिस्पर्धीभन्दा अगावै फोल्डिङ फोन बजारमा ल्याइसक्ने कम्पनीको लक्ष्य छ। उक्त सेटको मूल्य दुई लाख रुपैयाँभन्दा माथि हुने अनुमान गरिएको छ।

विश्वकै दोस्रो ठूलो स्मार्टफोन बिक्रेता चिनियाँ कम्पनी हुवावेले पनि सेप्टेम्बरमै फोल्डिङ फोन ल्याउने तयारी गरिरहेको बताइएको छ। स्क्रिनको थप परीक्षण आवश्यक देखिएको भन्दै हुवावेले ‘लन्च’ गर्ने मिति सार्दै आएको छ। गत वर्ष चीनकै साओमी कम्पनीले बजारमा ल्याएको फोल्डिङ स्क्रिनसहितको प्रविधिलाई पछि ट्याब्लेटमा रुपान्तरण गरिएको थियो।

चन्द्रमा छुन उड्यो भारतीय यान, चन्द्रयान-२ का ५ रोचक तथ्य

नयाँदिल्ली : भारतले सफलताका साथ चन्द्रयान–२ को प्रक्षेपण गरेको छ। चन्द्रमामा यान पठाउने महत्वाकांक्षी परियोजना अन्तरगत इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (आइएसआरओ) ले निर्माण गरेको उक्त यान सोमबार दिउसो ३ बजे आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट प्रक्षेपण गरिएको हो।

गतसाता नै गर्ने भनिएको उक्त प्रक्षेपण यानको इन्जिनमा खराबी देखिएपछि एकसाताका लागि सारिएको थियो। आइएसआरओको कन्ट्रोल रुमबाट २ सय ५० जना वैज्ञानिकले यो मिशनको निगरानी गरिरहेका छन्।

जिएसएलभी–एमके–३ नामक रकेटमार्फत् प्रक्षेपण गरिएको उक्त यान आउँदो सेप्टेम्बर महिनाको पहिलो साता चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्नेछ। चन्द्रमाको दक्षिणी ध्रुवमा पानी र जीव भेटिनसक्ने अनुमान गरिँदै आएको छ।

चन्द्रयान–२ का पाँच रोचक तथ्य :

१. भारतका लागि यो दोस्रो चन्द्र मिशन हो। चन्द्रमाको सतहमा मानव पाइला परेको अभूतपूर्व घटनाको ५० औं वार्षिकोत्सव मनाइँदै गर्दा भारतले चन्द्रयान–२ को प्रक्षेपण गरेको हो। निल आर्मस्ट्रङले चन्द्रमामा पाइला टेकेको गत शनिबार ५० वर्ष पुग्यो।

२. भारतको पहिलो मार्स सेटेलाइटको लागत स्पेस विज्ञानमा आधारित चलचित्र ‘ग्र्याभिटी’ को कूल लागतभन्दा कम थियो। चन्द्रयान–२ को लागत १४.१ करोड अमेरिकी डलर हो, जुन अमेरिकाको अपोलो मिशनभन्दा २५ अर्ब डलरले कम हो।

३. भारतले यसअघि सन् २००८ मा चन्द्रयान–१ प्रक्षेपण गरेको थियो। उक्त मिशनले चन्द्रमामा पानीको खोज गर्ने लक्ष्य राखेको थियो। उसले चन्द्रमाको कक्षमा ३ सय १२ दिन बिताएको थियो। चन्द्रयान–२ को लक्ष्य पानी र जीवको सम्भावनाबारे अध्ययन गर्नु हुनेछ।

४. पृथ्वी र चन्द्रमाको औसत दुरी ३,८४,००० किलोमिटर छ। चन्द्रयान–२ आजको ४८ दिनपछि चन्द्रमामा अवतरण गर्नेछ। साढे ९ सय किलोमिटर प्रतिसेकेन्डको गतिमा रहेको चन्द्रयान-२ ले चन्द्रमा र पृथ्वीबीचको ३ लाख ८४ लाख किलोमिटरको दुरी पुरा गर्न आगामी अगस्ट १३ सम्म लगाउनेछ।

५. चन्द्रयान–२ को प्रक्षेपणले भारतको अन्तरिक्ष मिशनप्रति बढ्दो महत्वाकांक्षालाई दर्शाउँछ। अन्तरिक्ष मिशन प्रधानमन्त्री नरेन्द्र मोदीको खास प्राथमिकतामा परेको क्षेत्र हो। भारतले इतिहासमै पहिलोपटक चन्द्रमाको सतहमा यान पठाउने योजना बनाएको हो। यो मिशन सफल भएमा यो भारतको लागि निकै ठूलो उपलब्धि हुनेछ।

चन्द्रयान टु को यात्रा

यसले अगस्ट १३ सम्म पृथ्वीको चारै दिशाको चक्कर लगाउनेछ। यसपछि अगस्त १३ देखि १९ सम्म चन्द्रमातर्फ जाने लामो कक्षमा यात्रा गर्नेछ। अगग्ट १९ मा नै चन्द्रमाको कक्षमा पुग्ने र १३ दिन अर्थात् अगस्ट ३१ सम्म चन्द्रमाको चारै दिशामा घुम्नेछ।

त्यसपछि सेप्टेम्बर १ मा विक्रम ल्यान्डर आर्बिटरबाट छुट्ठिनेछ र चन्द्रमा दक्षिणी ध्रवतर्फ अघि बढ्नेछ। पाँच दिनको यात्रापछि सेप्टेम्बर ६ मा विक्रम ल्यान्ड चन्द्रामको दक्षिणी ध्रुवमा अवतरण गर्नेछ। तयसको ४ घण्टापछि रोवर प्रज्ञान ल्यान्डरबाट निस्केर चन्द्रमाको सतहमा विभिन्न प्रयोगका लागि ओर्लनेछ।

भारतको दोस्रो महत्वकांक्षी चन्द्रमिशन

चन्द्रयान-१ को खोजीलाई अगाडी बढाउन भारतले चार टन क्षमताको एउटा लूनर आर्बिटर, ल्यान्डर र रोबर रहेको चन्द्रयान पठाएको हो। सन् २०२२ मा चन्द्रमामा अन्तरिक्षयात्री पठाउन चन्द्रयान-२ मिशन निक्कै महत्वपूर्ण रहेको इसरोले जनाएको छ।

नासाले एपोलो इलेभेनको चन्द्रमा मिशन पुरा गरेको ५० औं बर्षगाँठ मनाइरहँदा भारतले चन्द्रयान-२ पठाएर अर्को इतिहास रच्‍ने प्रयास गरेको छ।

चन्द्रमाको सतहमा अवतरण र त्यहाँ पुग्ने देशहरुमा संलग्न हुनु यो मिशनको उदेश्य रहेको छ। अझ भन्दा चन्द्रयान-२ चन्द्रमाको सतहमा उत्रने भारतको पहिलो प्रयास हो। यसअघि रुस, अमेरीका र चीनले चन्द्रमाको सतहमा चक्कर लगाइसकेका छन्।