News

पहिरोले घर बगाउँदा आमा-छोरीको मृत्यु





बाजुरा । बाजुराको गौमुल गाउँपालिका–६ शान्ति टोलमा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।गएराति १२ः३० बजे पहिरोले घर बगाउँदा ३० वर्षीया निरुता चदारा र उनकी छ वर्षीया छोरी निस्मिता चदाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए । निरुता र निस्मिता आमा-छोरी हुन् ।

पहिरोले बगाउँदा ९० वर्षीय जंगे चदारा गम्भीर घाइते भएका छन् । अन्य चार जना घाइतेको अवस्था सामान्य छ ।पहिरो गएको स्थानमा उद्धारका लागि जिल्ला प्रहरी कार्यालयको टोलीसँगै आफू पनि घटनास्थलतर्फ जाँदै गरेको प्रहरी नायव उपरीक्षक भाटले जानकारी दिए । घटनास्थल सदरमुकाम बाजुराबाट करिब ४ घण्टाको पैदल दुरीमा छ ।वर्षा नरोकिएका कारण गाउँमा थप त्रास फैलिएको वडा सदस्य प्रेम विकले जानकारी दिए । जिल्लाका धेरै बस्ती भिरालो ठाउँमा भएका कारण पहिरोको जोखिममा छन् ।