Lifestyle

छोराछोरी लिएर हिमानी सोमबार पशुपतिमा, देवी भन्दै जनताले गाए जयजयकार ! हेर्नुहाेस

काठमाडौं : पूर्वयुवराज्ञी हिमानी शाह सोमबार पशुपतिनाथ मन्दिर पुगेर दर्शन तथा पूजाअर्चना गरेकी छिन्। जेठी छोरी र छोरा लिएर युवराज्ञी बिहान पौने दस बजेतिर पशुपति पुगेकी थिइन्। त्यहाँ उनले करिब एकघन्टा जति पूजाअर्चना गरिन्। हिमानीलाई दक्षिण गेटबाट मन्दिर प्रवेश गराइएको थियो।

काठमाडौँ– पूर्वयुवराज्ञी हिमानी शाहले समाजसेवाका लागि स्थापना गरेको हिमानी कोषमा रकम जम्मा गर्नका लागि पूर्वराजा ज्ञानेन्द्र शाह लिखित पुस्तक ‘सन्देश संग्रह’ को पाँच सय प्रति हिमानी ट्रस्टलाई प्रदान गरियो। उक्त कार्यक्रममा पूर्व युवराज्ञी हिमानी जेठी छोरी पूर्णिकाका साथमा उपस्थित भएकी थिइन्

उनले पूर्वराजाले हिमानी ट्रस्टलाई पुस्तक दिएर गरेको सहयोगलाई आदर गर्दै धन्यवाद ज्ञापन गरेकी थिइन्। साथै हिमानीले मिडियाको आग्रहमा छोरी पूर्णिकाको साथमा तस्बिर खिचाइन्।

पूर्णिका थाइल्याण्डमा ग्र्याजुएन सकेर केही समय अगाडिमात्र नेपाल आएकी हुन्। उनी कुर्ता सुरुवालको पहिरनमा आमा हिमानीसँग ट्रस्टको कार्यक्रममा उपस्थित भएकी हुन्।

र यो पनि पढ्नुहोस्
म भित्र दुःखका काँडाहरू थुप्रै छन् जसले घोचेर म पटक–पटक रोएकी छु : हिमानी शाह

भनिमण्डल चोकबाट जाउलाखेलतिर लाग्नेबित्तिकै डिएनएन न्यूज नेटवर्कको बोर्ड देखिन्छ । बोर्ड टाँगिएकै तलामा अफिस हो,’ मैले उनको सहयोगीलाई ठेगाना टिपाएको थिएँ । उनी भनेको समयभन्दा पाँच मिनेट अगाडि नै आइपुगिन् ।उनलाई गेटबाटै ‘फलो’ गर्न मैले फोटोपत्रकार बिजु महर्जनलाई भनिसकेको थिएँ । उनी लेन्स मिलाउँदै हत्तपत्त तल ओर्लिन् । एक तलामाथिबाट मैले हेर्दा उनी गाडीबाट ओर्लिंदै थिइन् । उनको आँखा बोर्डसँगै ममा पर्यो । मैले नमस्कार गरेँ, उनले नमस्कार फर्काउँदै आफ्नो ‘सिग्नेचर’ मुस्कान मुस्कुराइन् । सहयोगीलाई मैले माथि आउन इशारा गरेँ । ‘रातोपाटी गेस्टरूममा स्वागत छ,’ म अलि औपचारिक हुँदै उनलाई सोफामा बस्न भनेँ । ‘धन्यवाद’, उनले रातोपाटी गेस्टरूम लेखिएको भित्तो हेर्दै भनिन् ।

केही अनौपचारिक कुराकानी भयो । केही उनले सोधिन्, केही मैले । उनी सहजै खुलिन् । पूर्वयुवराज्ञी भनेर दकस मान्नुपर्ने कुनै व्यवहार थिएन । त्यसो त, जनसाधारणसँग घुलमिल हुने हिमानीको स्वभाव यसअघि नै चर्चा भइसकेको विषय हो ।कफी आइपुग्यो । मैले रेकर्डर अन गरेँ । बिजु क्यामेराको लेन्स मिलाउन थालिन् । ‘ल, अब कफी पिउँदै अनौपचारिक ढंगले कुराकानी गरौं । म धेरै प्रश्न गर्दिनँ । थिम बुझिहाल्नुभयो, सरर बोल्नुहोला, केही छुटेझै लाग्यो भने बीचमा सोधुँला ।’, मैले भनें । ‘हुन्छ,’ उनको सिग्नेचर मुस्कान फैलियो । बिजुले एक स्न्याप लिन भ्याइहालिन् ।

‘सबैलाई थाहै छ, नेपालको राजपरिवारसँग मेरो सम्बन्ध जोडिएबाट जीवनको कथा मोडिएको हो । ७ माघ ०५६ मा पारससँग वैवाहिक सम्बन्धमा बाँधिएकी हुँ । हाम्रा दुई छोरी र एक छोरा छन् । राजपरिवारसँग जोडिनु जोकोहीको सौभाग्यमा हुँदैन । त्यो सौभाग्य मैले प्राप्त गरेँ । त्यसले सम्मान, इज्जतका साथै सम्पूर्ण भौतिक सुविधाको उपभोगको अधिकार पनि प्राप्त भयो । त्यसैले म आफूलाई भाग्यमानी ठान्छु ।’ यति भनेर उनी मुस्कुराइन् र कफीको एक ‘सिप’ लिइन् ।

एकैछिन कफीको कपलाई गौर गरेर हेरिन् र गम्भीर भएर भनिन्, ‘तर म आफूलाई सम्पूर्ण रूपमा खुशी छु भन्न सक्दिनँ । भाग्यमानी हुनु, भौतिक सुविधामा रहनुमात्रै खुशी नहुँदोरहेछ । अझ प्रश्न सोध्नुहोला, शाही परिवारका मान्छे पनि दुःखी हुन्छन् र ? तर आज पहिलोपटक मैले यसरी भनिरहेकी छु कि मभित्र पनि दुःखका काँडाहरू थुप्रै छन् । जसले घोचेर म पटक–पटक रोएकी छु, पटक–पटक चिच्याएकी छु । हृदयको रगत आँसु बनेर आँखाबाट बगेका छन् । जीवनको घुम्ती र मोडमा मैले धेरैपटक अचानक ब्रेक लगाएको छु । तर्सिएकी छु र पनि अगाडि बढिरहेकी छु ।’ उनको अभिव्यक्ति अमूर्त तर भावनात्मक थियो । अनुहारमा सघन गम्भीरता फैलिएको थियो । त्यसैबेला बिजुले चलाएको क्यामेराको फ्ल्यास चम्कियो । उनले हच्केझैं भनिन्, ‘अहिले राजतन्त्र नभए पनि हामी एउटा विरासतबाट आएका छौं । त्यसैले मुटुभित्र जे भए पनि घरको संघार नाघेर बाहिर निस्किएपछि अनुहारमा चमक देखाउनुपर्छ । यस्तै क्यामेराका ‘फ्लास’मा हाँसो दिनुपर्छ । म यसबाट भाग्न सक्दिनँ ।’, उनको कुरा सुनेर बिजु अलि हच्किन् । तर फेरि उनले आफ्नो सिग्नेचर मुस्कान बिजुतिर फैलाइन् । बिजुले सहज महसुस गरिन्झैं लाग्यो । फेरि क्यामेराको ‘फोकल प्वाइन्ट’ मिलाउनतिर लागिन् ।

उनले हल्का सुस्केरा हालिन् । र, निरन्तरता दिइन्, ‘हिजोमात्रै बेलायती राजकुमार आफ्नो देश फर्किए । उनको खुब चर्चा भयो । उनले भूकम्पले ध्वस्त गाउँको विद्यालय भवन पुनर्निर्माणमा श्रमदान गरे । आफ्ना नेपाल भ्रमण अवधि लम्ब्याएर अझ नेपालीको मन जिते । तर आफ्नै देशको पूर्वराजकुमारको कसैले सोधी खोजी गरेन । पछि थाहा पाएँ, तपाईंहरूले कुरा गर्न खोज्नुभएको रहेछ । तर उहाँले मान्नुभएनछ । मैले पनि बेलायती राजकुमारको भ्रमण अवधिभर उहाँकैबारे बढी सोचेँ । पछिल्लो समय म समाजसेवामा सक्रिय छु । उहाँ पनि मैले यसो गरेको हेर्न चाहनुहुन्थ्यो । तर उहाँलाई पनि म ह्यारीजस्तै देशको कुना–कुना पुगेको, जनतासँग हाँसखेल गरेको र सुखदुःखमा सहभागी भएको हेर्न चाहन्थेँ । सबैलाई थाहा छ, मैले दार्जुलाको बाढी पहिरोमा होस् कि भूकम्पको बेलामा, कुनै न कुनै रूपले जनतालाई सहयोग गरेँ । त्यहाँ म मेरा प्रिय पति पारसलाई साथै देख्न चाहन्थेँ ।’

उनले सुस्केरा हालिन् । कुराकानी भावुकता बढी थियो, त्यसले मलाई र बिजु दुवैलाई भावुक बनाइरहेको थियो । उनी पनि आँसु रोकेर बोलिरहेकी छिन् भन्ने स्पष्ट थाहा हुन्थ्यो । ‘मैले उहाँलाई सुधार्न धेरै प्रयास गरेँ ।’ उनले भन्न थालिन्, ‘तर मेरो हरेक प्रयत्न असफलजस्तै भए । हरेक दिन पतिको दीर्घायुको कामना गर्दैै आप्mनै घरको प्रांगणमा रहेको मन्दिरमा दैनिक पूजाआजा गर्थेँ । अहिले पनि गर्छु । तर, उहाँलाई मेरो यो कामनाप्रति मतलब भएको पाइनँ ।

उहाँको आफ्नै ताल हुन्थ्यो । मस्ती गर्ने र आफ्नै खालको जीवन जिउँने उहाँको शैलीले हामीबीच एक किसिमको दुरी बन्न गयो । तर पनि मेरो प्रयत्न जारी थियो । त्यस्तो बेला भारतीय मिडियामा आउने समाचारले उत्तिकै तनाव दिन्थे । कसैले उहाँलाई पारसलाई नक्कली भारतीय रुपैयाँको कारोबारी भन्थे त कसैले लागूऔधष कारोबारी । मलाई ती समाचार भयानक लाग्थे, उहाँको अनुहार हेर्थें, उहाँले पनि असुरक्षित महसुस गरेको पाउँथेँ । त्यस्तै सन्दर्भमा मैले दुई बर्ष अगाडि एउटा दैनिक पत्रिकामा अन्तर्वार्ता दिएकी थिएँ– ‘अरू हिन्दु नारीझैँ मलाई पनि पतिको विषयमा विवादास्पद समाचार आउँदा दुःख लाग्छ ।’

भनेर । वास्तवमै उहाँको विवादास्पद छवि र गतिविधिले मलाई असाध्यै धेरै दुःखी बनाएको थियो । दरबारमा भएको दुर्घटनाको प्रसंग चल्दा पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उहाँको नाम जोडिरहेका हुन्थे । यसले मलाई मात्रै होइन, परिवारलाई नै मनोवैज्ञानिक तनाव दिन्थ्यो ।’ पारसबारे थाहा भइरहेकै कुरा भए उनकै पत्नीबाट सुन्दा नयाँ कुरा सुनेझैं उत्सुकता थियो ममा । बिजु पनि उत्तिकै ध्यान दिएर सुनिरहेकी थिइन् ।

‘१३ वर्षअघि लापरबाहीपूर्वक गाडी चलाएर गायक प्रवीण गुरुङको हत्या गरेको आरोप पनि लाग्यो उहाँमाथि । ०६७ पुसमा चितवनको टाइगर टप्स रेस्टुरेन्टमा कांग्रेस नेतृ सुजाता कोइरालाकी ज्वार्इं रुबेल चौधरीलाई लक्षित गरेर फायरिङ गरेको घटनामा उहाँमाथि मुद्दा नै चलेको थियो । यो घटनाले पूर्वराजपरिवार नै विवादमा तानियो । उहाँले दलाई लामाका प्रतिनिधि थिन्ले गोल्छेसँग गोप्य भेटघाट गरेको भन्ने अपुष्ट समाचार पनि आयो । मिडियाले उहाँको नाम दाउद इब्राहिमसँग पनि जोडे । ज्वाईं राजबहादुर सिंहको गतिविधिमा पनि उहाँ चित्त बुझाउनुहुन्नथ्यो, त्यसैले राजबहादुर जेठान पारससँग सोझै भेट्न डराउनुहुन्थ्यो ।

तत्कालीन युवराजधिराजलाई अपहरण गर्ने, रोल्पा पु¥याउने र दरबार हत्याकान्डबारे बयान लिने योजना बनेको भनेर पनि समाचार आयो । यस्ता कुरामा कतिको सत्यता थियो, त्यो त म जान्दिनँ । मलाई लागेको थियो, यी सबै हल्ला, चर्चा र घटना मदिरा र लागूऔधष सेवन गर्ने बानी कारण यस्तो भइरहेको हो । जसले मलाई असाध्यै चिन्तित बनाएको थियो ।’ उनले पतिका कारण आफूले भोग्नुपरेको दुःखको फेहरिस्त खोल्दै गइन्, ‘मदिरा पिउने विषयमा हामीबीच बेला–बेला खटपट भइरन्थ्यो । बिहेपछि उहाँको विभिन्न युवतीसँग नाम जोडिन्थ्यो । यो विषयले पनि हाम्रो खट्पट गराउँथ्यो ।

हामी कुनै समय निर्मलनिवासमै पनि अलग–अलग कोठामा बस्यौँ । एक पटक उहाँले मलाई होटलमै तनाव दिनुभयो । उहाँ मदिरा पिएर होटल एभरेष्टको ग्यालेक्सी डिस्कोमा बसेको थाहा पाएँ । उहाँलाई सम्हाल्न गएकी थिएँ, तर उल्टो रिसाएर बन्दुक नै चलाउनुभयो । यो घटना मिडियामै सार्वजनिक भयो । मैले उहाँको मदिरा लत छुटाउन सक्दो प्रयत्न गरेँ । एकपटक त काभ्रेको पलान्चोक भगवती मन्दिरमा लगेर अबदेखि मदिरा पिउँदिनँ भनेर कसम खान लगाएँ । केही समय त छाड्नुभयो ।

तर, केही समयपछि फेरि सुरु गर्नुभयो । संगतले होला भनेर मैले संगत छुटाउने पनि प्रयत्न गरेँ । देशमा गणतन्त्र घोषणा भएपछि त्यसमा म सफल पनि भएकी थिएँ । उहाँले कपालको चुल्ठो काट्नुभएको थियो । मेरो र परिवारको आग्रह मानेर पुराना साथीको सर्कलबाट बाहिर निस्कनु भएको थियो ।’ उनी पुराना स्मृतिमा डुबिरहेकी थिइन् । म चुपचाप उनको कुरा सुनिरहेको थिएँ ।उनले भनिन्, ‘तपाईंले सोचेजस्तो भन्न सकिरहेकी छु कि छैन ?’ मैले भनें, ‘ठीक छ । भन्दै जानुस् न ।’

उनले निरन्तरता दिइन्, ‘०६४ सालको भदौ २० मा उहाँलाई हृदयाघात भयो । नर्भिक अस्पतालमा डा. भरतराज राउतको नेतृत्वमा डा. श्याम पाण्डे, डा. केएन मल्ल, डा. यादव भट्ट र डा. शेखर राजभण्डारीको टोलीले उहाँको उपचार गर्यो । ६ दिनमै डिस्चार्ज भए पनि डाक्टरले उहाँलाई जिन्दगीभरि औषधि खान भनेका थिए । तर उहाँले हेलचेक्रार्इं गर्नुभयो । उल्टो, लागूऔषध सेवन गर्नु थाल्नुभयो । त्यसैबेला थाइल्याण्डमा उहाँको कर्निका लिनसँग प्रेमसम्बन्ध बिग्रेको खबर मिडियामा आयो । पतिको यस्तो हालत हुनु र यस्तो समाचार सुन्नुले कुन नारीको मन नआत्तेला, नरोला ?’

उनी भावुक भएर एकैछिन रोकिइन् । सेलाइसकेको कफी पिउँदै उनले भन्न थालिन्, ‘०६८ साल भदौ ११ गते उहाँ बैंकक जानुभयो । त्यसपछि मैलै एक्लै समय बिताउनुपर्यो । त्यसबेलासम्म भएका अनेक खट्पट्ले हाम्रो सम्बन्ध उसै त चिसिएको थियो, उता गइसकेपछि त संवादसमेत हुन छाडेको थियो । त्यसै बर्षको फागुनको पहिलो साता उहाँ निकै बिरामी पर्नुभयो । म झन् चिन्तित भएँ । हामीबीच ६ महिनादेखि फोनमा समेत संवाद हुन सकेको थिएन । उहाँ बंैककमा थाई गर्लफ्रेन्डसँग बस्दै आएको सुनेकी थिएँ । यता मेरो मन पोलिरहेको थियो, उहाँलाई भने मेरो दिनचर्या र चाहनाबारे कुनै चासो थिएन । तर म उहाँको साथ नहुँदा छट्पटाइरहेको थिएँ । हृदयाघात भएपछि ८ फागुनमा बैंककको समितिभेज अस्पतालमा उपचारका लागि भर्ना हुनुभयो । उहाँ बिरामी भएपछि पूर्वराजपरिवारमा बेचैनी फैलियो । सम्बन्ध बिग्रिएकै भए पनि पति बिरामी भएको भन्दा मलाई चिन्ता नहुने कुरै भएन । बैंककमा उहाँ अस्पताल भर्ना भएकै साँझ छोरी कृतिका पनि गम्भीर बिरामी परिन् । नर्भिक अस्पतालमा उनको पेटको एपेन्डिसाइटिसको अप्रेसन गरियो । त्यसैले म दुई दिन ढिलो बैंकक पुगेँ ।

अस्पताल भर्ना भएको तेस्रो दिन ११ फाुगनमा म सहयोगी स्मिता सिंहलाई लिएर थाई एयरलाइन्सको नियमित उडानबाट बैंकक गएँ । उहाँ बिरामी पर्दा बुबा र मुमा सिमरामा हुनुहुन्थ्यो । त्यहीँ राम मन्दिर गएर छोराको सुस्वास्थ्यको कामना गर्दै पूजापाठ गर्नुभयो । पछि उहाँहरू पनि बैंकक जानभयो । हाम्रा छोरा हृदयन्द्र, छोरी पूर्णिका र कृतिका पनि सँगै गए । मसँगचाहिँ उहाँकी बहिनी प्रेरणा, दिलासा, पूजा, सिताष्मालगायत नातेदार वानुभएको थियो । अस्पतालमा भर्ना भएको बाह्रौँ दिनमा उहाँको होश खुल्यो । मेरो मनमा बल्ल अलिकति राहत भयो । १५ चैतमा उहाँ डिस्चार्ज हुनुभयो । त्यसपछि केही समय पुनस्र्थापना केन्द्रमा बस्नुभयो । अब त उहाँ ठीक हुनुहुन्छ कि भन्ने मलाई ठूलो आश जागेको थियो ।’ निकैबेर बोलेकोले उनी थाकेजस्तो देखिइन् । तर उनको कुरा सकिएको थिएन । त्यसैले मैले उनीबाट निरन्तरताको अपेक्षा गरेँ । उनी भन्न थालिन्, ‘पछि उहाँ थाइल्यान्डमा गाँजासहित पक्राउ परेको र लागूऔषध मुद्दामा थाई प्रहरीले एक दिन थुनामा राखेर १० हजार भाट धरौटीमा रिहा गरेको समाचार बाहिर आयो । । यसले मलाई निकै निराश बनायो । त्यसबेला उहाँलाई भेट्न गइनँ । बाबुआमा र मसँग सम्बन्ध बिग्रिएकाले उहाँ त्यो बर्ष दसैं–तिहारमा पनि नेपाल आउनुभएन । धीरेन्द्रका तीन छोरी पूजा, सिताष्मा र दिलासाले उहाँलाई फोन गर्थे र सान्त्वना दिन्थे । उनीहरूमार्फत हामीले जानकारी लिन्थ्यौँ । आफैँ फोन गर्न भने सकेकी थिइनँ । खासमा, थाइल्यान्डमा सामुद्रिक वस्तुको व्यवसाय सुरु गर्ने उहाँको योजना थियो । तर गाँजा प्रकरणमा तानिएपछि योजना असफल भयो ।

उहाँ तारेख धाउँदा–धाउँदै निकै दुब्लाउनुभयो । ९० केजीको मान्छे ६० केजीमा झर्नुभयो । मलाई पनि यता दिनपरदिन चिन्ताले सताइरहेको थियो । तर निर्मलनिवासमै बुबामुमासँग बसेकाले उहाँहरुले चिन्ता नलिन आग्रह गरिरहनुहुन्थ्यो । तैपनि नलिउँ भनेर चिन्ता नलिइने होइन रहेछ । मैले जीवनको लामो समय चिन्तामा नै गुजारेँ ।’ वास्तवमा उनका अनुहारबाट चिन्ताको रेखा हटिसकेको थिएन । त्यति भनिसकेर उनले लामो सास तानिन् । र, भनिन्, ‘यसरी भन्दै जाने हो भने त कहिल्यै सकिँदैन । समय पनि निकै भइसकेछ । अब टुंग्याउँछु है ।’ मैले ‘हुन्छ’को संकेतमा टाउको हल्लाएँ । बिजु पनि सक्रिय भइन्, सायद केही ‘लास्ट स्न्याप्स्’ लिनुथियो उनलाई । हिमानी भन्न थालिन्, ‘मैले आफूलाई समाजसेवामा सक्रिय गराएको छु । यसले दिने आनन्दले चिन्ता कम गर्न सहयोग पुर्याएको छ । मैले समाजसेवाका लागि हिमानी ट्रस्ट बनाउँदा उहाँ काठमाडौंमै हुनुहुन्थ्यो । ट्रस्टको कार्यालय पुल्चोकमा थियो, उहाँ पनि सोमवार, बुधवार र बिहीवार जानुहुन्थ्यो । वास्तवमा उहाँकै सल्लाहमा मैले यो खोलेकी थिएँ । पछि यसको कार्यालय बालुवाटार सारियो । काठमाडौंमा पनि साइकल वितरण गर्नेदेखि वृद्धाश्रममा गएर वृद्धवृद्धालाई खाद्यान्न र लत्ताकपडा वितरणलगायतका काम गरेँ ।

त्यसपछि म ट्रस्टका कार्यक्रम लिएर दोलखाको गाउँ–गाउँ पुगेँ । दोलखाको एउटा कार्यक्रममा त उहाँ पनि जानुभएको थियो । उहाँ बंैकक बस्न थालेपछि भने उहाँलेको चासो दिन थाल्नुभएको थियो । तर म समाजसेवामा रमाइरहेँ । पछिल्लो समय भूकम्पपीडितलाई राहत दिन सक्रिय भएँ । यसले मलाई खुशी दिएको छ र दुःख घटाउन सहयोग गरेको छ ।’

यसो भन्दा उनको अनुहारमा उज्यालो फैलियो । झण्डै उनको सिग्नेचर मुस्कान फर्किएको थियो । उनी बोल्न थालिन्, ‘झन्डै पाँच बर्षपछि ०७१ को चैत १९ गते काठमाडौं फर्कनुभएको थियो । उहाँ नेपाल आएपछि पनि निर्मल निवास वाहिरै बस्नुभयो । भूकम्पपछि पनि हामीबीच भेट भएन । पछिल्लो पटक साउन १० गते उहाँ फेरि बिरामी हुनुभयो र अहिले उपचारमा हुनुहुन्छ । पति बिरामी भएपछि मनले थामेन । दुःखमा पानी बाराबार गर्ने हाम्रो संस्कार होइन । म तुरुन्तै अस्पताल गएँ । उपचारबारे सबै जानकारी लिएँ ।

उहाँको मुटुको गतिमा केही अनियमितता देखिएपछि उक्त गतिलाई नियमित गर्न वरिष्ठ हृदयरोग विशेषज्ञ डा. भारत रावत र डा. सुजीव राजभण्डारीको टोलीले शल्यक्रिया गरी इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर सफलतापूर्वक जडान गरेको छ । आठ वर्षअघि पहिलोपटक हृदयाघात हुँदा नर्भिकमै आकस्मिक कोरोनरी एन्जियोप्लाष्टिक तथा स्टेन्ट प्रत्यारोपण गरिएको थियो । अहिले पनि उहाँ उपचारसहित आराम गरिरहनुभएको छ । चाँडै सम्पूर्ण रूपले निको हुने आशा छ । अहिले बेलायती राजकुमारको नेपाल भ्रमाणले मलाई उहाँको सक्रियताको र साथको खुप रहर जागेको छ । जतिसुकै उतार–चढावपूर्ण भए पनि हाम्रो जीवन सुखी हुनेमा म आशावादी छु । र, हामी भगवानसँग यही प्रार्थना गरिरहेका छौँ ।’

यति भनेर उनी मुस्कुराइन् । बिजुलाई हेरिन् । बिजुले अन्तिम ‘स्न्याप’ लिइन् । उनले लामो सास फेर्दै भनिन्, ‘यत्ति नै गरौं है ? कस्तो भयो ?’‘भावुक बनाउनुभयो ।’, मैले संक्षिप्तमा भनेँ । उनी फेरि मुस्कुराइन् । ‘ल, अब निस्कन्छु । प्रकाशित भएपछि खबर गर्नुहोला ।’मैले उनलाई धन्यवादसहित विदा गरेँ । बिजु लामो सास फेर्दै मलाई हेरेर मुस्कुराइन् र भनिन्, ‘कफी सेलाइसक्यो, किन नखानुभएको ?’ म पनि हासेँ । ०००‘कफी सेलाइसक्यो बाबा ।’ गेस्टरूमको ढोकाबाट निस्कँदै थिएँ, छोरीको आवाज पो सुनेँ । ‘हँ’ म त सपनाको देखिरहेको रहेछु । छोरी मेरो हात तानेर ब्यूँझाउन खोज्दै थिइन् । ‘स्टडी टेबल’मा कफी बफाइरहेको थियो ।‘उफ्, सपना पनि अन्तरवार्ता लिएकै देख्न थालिएछ’, आङ तन्काएर उठ्दै सोचेँ । बाबालाई उठाउन सफल भएँ भन्ने खुशीले छोरी मुस्कुराई र दौडिँदै आमाको छेउ पुगेर भनी, ‘बाबा, उठ्नुभयो ।’ उठेर मुख पनि नधोइ कफी खाँदै सपना पुनस्मरण गरेँ । र सोचें, ‘यही सपना उतार्ने हो भने समाचार सम्पादकले के भन्लान् ?’

बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ह्यारी नेपाल आउने दिन नजिकिएपछि उनको ‘मिडिया कभरेज’ बढेको थियो । हरेक समाचारको फरक ‘एंगल’ खोजिरहने समाचार सम्पादक नेत्र पन्थीे सोचमग्न थिए । उनी ह्यारी भ्रमणको बेला ‘सरप्राइज एंगल’ दिन चाहन्थे । पूर्वयुवराज पारसको अन्तर्वार्ता ! उनको सिर्जनात्मक मस्तिष्कमा ह्वात्त आएको विचार उनले आफ्नो स्वाभावअनुसार शालीनतापूर्वक भनेका थिए, ‘विदेशी राजकुमार आउँदा, यहाँको पूर्वयुवराजको कुरा थाहा पाउनुपर्यो नि जनताले ।’

कुरा अच्छा थियो । अच्छा कुरोलाई सच्चा काममा बदल्न पारसलाई स्रोतमार्फत ‘फलो’ गर्न थालियो । तर ह्यारी नेपाल आइपुग्दासम्म पारससँग संवाद गर्न सकिने सम्भावना नरहेको खबर स्रोतले दियो । खबरले ‘फरक एंगल’को उत्साहमा पानी खन्याइदियो । पानीले चिसिएको चिसो मस्तिष्क बोकेर कार्यालयबाहिरको चिया पसलमा चिया खान निस्किँदासम्म ह्यारी आइपुगेको तस्विर ‘हिट’ भइसकेको थियो ।

ह्यारीको चर्चा चलिरह्यो । भूतपूर्व गोर्खासँग भेटेकोदेखि भूकम्पबाट पुनर्निर्माणमा ढुंगा बोकेकोसम्म तस्विर छापिए, प्रशारण भए । गोरखाको लापुवेसीका स्थानीयले त उनको सम्मानमा डाँडाको नाम नै ‘ह्यारी हिल’ राखे । उनले नाचेको खबर ‘हिट’ भयो । उनलाई नेपालमै जन्मिनुपर्ने मान्छे भनेर प्रशंसा गरिएका पत्रहरू अनलाइनमा देखिए । पारस र उनको तुलना गरिएका तस्बिर सामाजिक सञ्जालमा ‘भाइरल’ भए । छ दिन नेपाल भ्रमण लम्ब्याएपछि त उनको चर्चा झनै चुलिएको थियो ।

ह्यारीको थप भ्रमणदिन पनि सकिएको थियो र बेलुका उनी फर्कदै थिए । हामी भने अपरान्ह चिया पसलमा निस्केका थियौं । फेरि प्रसंग चलिहाल्यो– पारसको अन्तर्वार्ता हाल्न पाइएन है । कसैले प्रसंग उप्कायो । ‘साँच्ची हिमानीचाहिँ के सोचिरहेकी होलिन् यतिबेला ?’ अर्को साथीले थपे । ‘विदेशी राजकुमारले यत्रो चकचकी गरेर चर्चा कमाउँदा आफ्नो ‘राजकुमार’बारे के भन्लिन् ?’ जिज्ञासा थपियो ।

‘अँ त, यो एंगल पनि गज्जब हुन्थ्यो । तर अब त ढिला भइहाल्यो ।’ समाचार सम्पादकले भने । चिया पसलबाट फर्किएपछिको अल्छीलाग्दो समयमा मैले गूगलमा ‘हिमानी’ सर्च गरेँ । ‘इन्टरनेट अर्काइभ’ले चित्त नबुझेर रातोपाटीकै ‘न्यूज रुम अर्काइभ’ पनि खोतलेँ । उनीबारे उपलब्ध सामग्री पढ्दै जाँदा झण्डै तीन घन्टा बितेछ । त्यही ‘ह्याङ्ओभर’ले सपनामा राज गरेको थियो ।

मैले ल्यापटप खोलेँ र सपना टाइप गर्न थालेँ । सकिएपछि अर्को सोच मनमा आयो, ‘साँच्चै, हिमानीचाहिँ के सोचिरहेकी होलिन् यतिबेला ?’ त्यसको लागि साँच्चै अन्तरवार्ताको चाँजो मिलाउनुको विकल्प थिएन ।

-श्रोत : रातोपाटी