प्रेम सम्बन्धका कारण प्रिन्सिपलको हत्या

News

काठमाडौं । बोर्डिङ स्कुल प्रिन्सिपल माथि सोमबार बारा कलैया बजारमा दिउँसै गोली प्रहार भयो । मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी जनक भट्टराईका अनुसार सर्राफमाथि पाँच राउन्ड गोली प्रहार भएको थियो । पाँच राउन्ड गोलीमध्ये रुपेशलाई तीन राउन्ड गोली लाग्यो ।

दुईवटा गोली उनको छातीमा लागेको थियो भने एउटा गोली पाखुरा छेडेर बाहिर निस्कियो । घटनालगत्तै उनलाई उपचारका लागि प्रहरीले पर्साको बयोधा अस्पताल पुर्‍यायो । तर, अस्पतालका डाक्टरले रूपेशलाई मृत घोषित गरे ।

प्रहरीले रूपेशमाथि गोली प्रहार गर्ने समूहको खोजी तीव्र पारेर मंगलबारसम्म १० जना प्रकाउ गरेको बाराका एसपी सुरेश काफ्लेले जानकारी दिए ।

उनका अनुसार, अझै केही फरार छन् । १० जनामध्ये ६ जना मुख्य आरोपी रहेको एसपी काफ्लेको दाबी छ । “अझै हामी अनुसन्धान कै क्रममा छौँ । केहीलाई अझै पक्राउ गर्नुपर्ने देखिन्छ,” काफ्लेले भने ।

रूपेश बाल एकता बोर्डिङ स्कुल कलैयाका प्रिन्सिपल समेत हुन् ।

प्रेम सम्बन्ध हत्याको प्रमुख कारण

प्रहरीको प्रारम्भिक अनुसन्धानले विवाहित रूपेशको हत्या प्रेम सम्बन्धको कारण हुन सक्ने निष्कर्ष निकालेको छ । घटनालगत्तै प्रहरीले अनेक कोणबाट अनुसन्धान गरेको थियो ।

६० किलो सुन तस्करी प्रकरणमा यसअघि बारा कलैयाकै शिवकुमार सर्राफ पक्राउ परेका थिए । शिवकुमार सुन व्यावसायी हुन् । उनको भूमिका तस्करीको सुन भारत बिक्री गर्ने गरेको खुलेको थियो ।

रूपेश पनि उनकै आफन्त भएको सीआईबीको दाबी थियो । तर रूपेश शिवकुमार नजिकका नभएको आफन्तको भनाइ छ । घटनालगत्तै सुन प्रकरणबारे अनुसन्धान गरेको सीआईबीको टोलीले समेत रूपेशको हत्यालाई आर्थिक र सुन प्रकरणसँग जोडिन सक्ने भन्दै बारा प्रहरीसँग घटनाबारे चासो देखाएको थियो ।

तर, बाराका एसपी सुरेश काफ्लेले प्रारम्भिक अनुसन्धानका क्रममा रुपेशको हत्या उनकै प्रेमिकाको योजनामा भएको देखिएको बताए । “यो हाम्रो प्रारम्भिक अनुसन्धान हो । अझै सोधपुछकै क्रममा छौँ,” एसपी काफ्लेले भने ।

बारा प्रहरीले घटनाबारे मंगलबार पत्रकार सम्मेलन गर्ने तयारी गरेको थियो । तर, अझै अनुसन्धान गर्न बाँकी देखिएपछि पक्राउ परेकालाई बुधबार सार्वजनिक गर्ने तयारी रहेको बाराका डीएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

प्रहरीले पक्राउ गरेकोमध्ये एकजना रूपेशकी प्रेमिका भनिएकी युवाती समेत छन् । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार आफ्नै स्कुलमा कार्यरत ती युवतीसँग रूपेशको प्रेम सम्बन्ध रहेको खुलेको छ ।

अनुसन्धानमा खटिएका ती अधिकारीले भने, “रुपेशकै स्कुलमा काम गर्ने ती युवतीसँग उनको प्रेम सम्बन्ध देखिन्छ । रूपेशसँग प्रेम सम्बन्ध हुनुपूर्व ती युवतीको भारतीय युवासँग समेत सम्बन्ध देखियो ।”

रूपेशसँग जोडिएपछि भने ती युवतीले भारतीय युवालाई छोडेकी थिइन् । रूपेशका कारण आफ्नो प्रेम सम्बन्ध टुटेपछि ती भारतीय युवाले रूपेशलाई आफ्नो प्रेमको बाधक रहेको भन्दै यसअघि समेत मार्ने प्रयास गरेको खुलेको छ ।

ती युवतीसँगको सम्बन्धबारे रूपेशलाई जानकारी दिन भारतीय युवा उनको स्कुलमै पुगेको खुलेको छ । भारतीय युवा स्कुलमै पुगेपछि भने रूपेशले ती युवतीलाई जागिरबाट नै हटाए । अनि आफू पनि उनीसँग टाढिए ।

स्कुलबाट जागिर गुमेपछि ती युवतीले रूपेशकै हत्याको योजना बुनेको प्रहरीको दाबी छ । २० वर्षीया ती युवतीलाई प्रहरीले पक्राउ गरिसकेको छ । यद्यपि, उनको परिचय सार्वजनिक गरिएको छैन । बाराका डीएसपी न्यौपानेका अनुसार रूपेशमाथि गोली प्रहार गर्ने युवाहरूबारे अझै केही अनुसन्धान गर्नुपर्ने देखिएको छ । प्रारम्भिक अनुसन्धान मुख्यकारण प्रेम सम्बन्ध देखिएको छ ।

उनीमाथि दुई वटा मोटरसाइकलमा आएका समूहले गोली प्रहार गरेर हत्या गरेको खुलेको छ । पक्राउ परेका तीनजना भारतीय युवा छन् । उनीहरूले हत्याका लागि ‘सुपारी’ लिएको आशंका प्रहरीको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *