दक्षिण कोरियामा इ-सेभेन भिषा मार्फत दक्ष यो पदका नेपाली कामदारको माग

News

काठमाडौं: दक्षिण कोरियाले इ-सेभेन भिषामार्फत पनि नेपाली दक्ष कामदारको माग गरेको छ । इ-सेभेन भिषामार्फत दक्षिण कोरिया नेपाली कामदार पठाउने विषयमा सरकारले छलफल अघि सारेको छ ।

इ-सेभन भिषा भनेको कुनै निश्चित क्षेत्रमा विशेषज्ञता वा प्राविधिक सिप हासिल गरेका दक्ष कामदारहरुलाई दिइने भिषा हो । कोरियाले इ-सेभेन भिषा अन्तरगत निजी क्षेत्र अर्थात (बिटुबी) मार्फत कोरियाले दक्ष कामदार लैजाने छ । नेपालले इ-सेभेन भिषा खुला गरेमा निजी क्षेत्रका मेनपावर कम्पनीहरुले नेपाली दक्ष कामदारलाई कोरिया पठाउने छन् ।

इ-सेभेन भिषामा पारिश्रमिक तथा सेवा सुविधा निकै राम्रो भएका कारण यो भिसामा जतिसक्दो ठूलो संख्यामा नेपाली कामदार पठाउन सरकारले पहल गरिरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । यसबारे प्रधानमन्त्री पुष्पकमल दाहालसँग थप छलफल गरेर अघि बढ्ने तयारी मन्त्रालयको छ । मन्त्रालयका अनुसार अहिले कोरियाले इ-सेभेन भिषामार्फत वर्षेनी १० हजार बढी दक्ष नेपाली कामदारको माग गरेको छ ।

कोरियाले विशेष गरी इलेक्ट्रोनिक्स, मेकानिकल इन्जिनियरिङ, हार्डवेयर र सफ्टवेयर विकास, केयर गिभर र हस्पिटालिटी लगायत विभिन्न क्षेत्रमा विशेषज्ञता भएका व्यक्तिहरूलाई इ-सेभेन भिषा दिने गरेको छ । इ-सेभेन भिषामा जाने कामदारले परिवार पनिसँगै लैजान पाउने व्यवस्था रहेको छ । यस्तो भिसा अवधि सुरूमा तीन वर्ष र विशेष अवस्थामा पाँच वर्षसम्म हुनेछ भने करार अवधि पनि असीमित हुने मन्त्रालयले जनाएको छ ।

यो भिषामा न्यूनतम पारिश्रमिक करिब ४ लाख नेपाली रूपैयासम्म हुनेछ । यस्तै यो भिषामा अन्य सेवा सुविधासहित बीमा लगायत सुविधा पनि रोजगारदाताले उपलब्ध गराउने व्यवस्था छ । कोरियाले सन् २०२२ देखि नै प्राविधिक पेशामा काम गर्ने आप्रवासी कामदारहरुको कोटा बढाउने नीति लिएको छ । जस अनुसार पानीजहाज निर्माणका लागि वेल्डर, चित्रकारलगायत व्यवसायिक सिप हासिल गरेका कामदारको कोटा बढाएको हो । कोरियाले इ-सेभेन भिषामा बंगलादेश, फिलिपिन्स लगायत अन्य मुलुकबाट कामदारहरु लैजाने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *