छोरीका लागि न्याय माग्दै १२० दिनदेखि चिसो भुइँमा रात बिताइरहेका आमा-बुवा

News

काठमाडौंस्थित माइतीघर मण्डलाको सडक किनारमा ३१ दिनदेखि धर्नामा बसिरहेकी छन्, एक आमा । कहिले टन्टलापुर घाम त कहिले बेतमासको झरी । उनलाई मौसमले कुनै फरक पारेको छैन । उनले दिनरात नभनी सडकलाई नै घर बनाएकी छन् ।

माइतीघरको बाटो हुँदै जाने सवारीसाधन, बटुवाले उनलाई एक नजर नियाल्छन् र सरासर आफ्नो बाटो लाग्छन् । कतिपयको मनमा उनलाई देखेर जिज्ञासा उत्पन्न हुन्छ, किन त्यो चिसो सडकमा बसेको होला ? उक्त कौतुहलता मेटाउन कतिपयले ती महिला नजिक पुगेर सोध्छन् । कतिले महिलाको वरिपरि टाँगिएका ब्यानरमा लेखिएका शब्द पढेर अड्कल काट्छन् । कति व्यक्तिले ती महिलाको अवस्था देखेर मनमनै ‘बिचरी’ भन्दै आफ्नो लक्ष्यतिर अग्रसर हुन्छन् ।

ती महिला एकछिन पनि सडक छाड्न चाहँदिनन् । शरीर नथाकुन्जेल त्यो सडकमै बसिरहन्छिन् । बेलाबेला मानसपटलमा घुमिरहेका अनेक घटना सम्झेर रुन्छिन्, कति समय आफैँसँग बर्बराउँछिन्, उनी । जब शरीर थाक्छ तब छोरा प्रेमका काखमा शरीरलाई विश्राम दिँदै भक्कानिन्छिन् । उनको रोदन, चिच्याहट कसैले पनि सुन्दैनन् । किंकर्तव्यविमुढ भएर उनी न्यायको पर्खाइमा बस्न बाध्य छिन् ।

उनी हुन्, धनुषाको नगराइन–८, खिरखिरियाकी निर्मलादेवी साह । दाइजो नदिएको निहुँमा ज्वाइँको परिवारले आफ्नी २५ वर्षीया छोरी आरती साहको हत्या गरेको निर्मलादेवीको आरोप छ । सोही घटनामा निष्पक्ष छानबिन हुनुपर्ने उनको माग छ । उनका साथमा श्रीमान् विनोदप्रसाद साह, भाइ सन्तोष कुमार, छोरा प्रेम, छोरी मनीषालगायत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *