नुहाउन गएकी युवतीको घाँटी रेटेर हत्या , बलात्कारको प्रयास असफल हुँदा रेटियो घाँटी

News

काठमाडौं । पाल्पामा एक १९ वर्षीया युवतीको घाँटी रेटेर बीभत्स ढंगले हत्या भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका-१ ख्याहामा हत्या भएको अवस्थामा मंगलबार साँझ युवतीको शव भेटिएको हो ।मंगलबार दिउँसो घर छेउको पँधेरोमा नुहाउन गएकी ती युवतीको धारिलो हतियारले शरीरका विभिन्न स्थानहरूमा प्रहार गरेर हत्या गरेको अवस्थामा शव भेटिएको स्थानीयले जानकारी दिएका छन् । दिउँसो ४ बजेघर नजिकै रहेको पँधेरामा नुहाउन गएकी उनी साँझसम्म नफर्किएपछि खोजी गर्ने क्रममा बीभत्स हत्या गरेर फालिएको अवस्थामा शव फेला परेको हो ।

मृतक १९ वर्षीया पद्मा ख्याहा कराङ्दीका दलबहादुर र कमला सुनारकी छोरी रहेको र उनी शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत रहेको रिब्दीकोट गाउँपालिका-१ ख्याहाका वडाध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिएका छन् । ‘उनको घाँटी र हातका औलाहरू काटिएका छन्, घटनास्थलको प्रकृति हेर्दा पद्मालाई जबरजस्ती गर्न खोज्दा बच्ने प्रयत्न गरेपछि हत्या भएको देखिन्छ’, वडाध्यक्ष पोखरेलले सुनाए ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले घटना साँझपख भएकाले प्रहरीले घटनास्थलको सुरक्षा दिएर राखेको र बिहानबाट अनुसन्धान सुरु गरिएको बताएका छन् । प्रहरी उपरीक्षक चन्दका अनुसार अनुसन्धानको लागि भैरहवाबाट कुकुर घटनास्थल पुगिसकेको छ । स्थानीयले युवतीको बीभत्स हत्याको तत्काल छानबिन गरी अपराधीलाई कारबाहीको माग गरेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *