आईफोन किन्न आमाबाबुले बेचे आठ महिनाको बच्चा

News

आमाबुवाले आईफोन किन्नका लागि आफ्नो आठ महिनाको सन्तान बेचेका छन् । पश्चिम बंगालको राजधानी कोलकाता नजिकैको उत्तर २४ परगना जिल्लाको ब्याराकपुरमा एक दम्पतीलाई प्रहरीले आईफोन १४ किन्न आफ्नो आठ महिनाको छोरालाई बेचेको आरोपमा पक्राउ गरेको छ ।

यो जोडी बाहेक प्रहरीले बच्चा किन्ने महिला प्रियंका घोषलाई पनि पक्राउ गरेको छ ।

एक प्रहरी अधिकारीले यसबारे जानकारी दिएका हुन् ।

यी अधिकारीका अनुसार दम्पतीले सोधपुछका क्रममा सामाजिक सञ्जालका लागि रिल बनाउनका लागि राम्रो फोन किन्नका लागि आफ्नो छोरा बेचेको स्वीकार गरेका छन् । छोरा बेचेबापत् पाएको पैसाले उनले आइफोन मात्रै किनेनन्, दिघालगायत धेरै ठाउँमा घुम्न पनि गएका थिए ।

यो कुरा करिब डेढ महिना पुरानो हो तर यो साता मात्रै यसबारे थाहा भएको हो ।

प्रहरीले बालककी आमालाई पक्राउ गरी सोधपुछ गरेको छ । प्रहरीले खर्डा क्षेत्रस्थित प्रियंका घोषको घरबाट बालकलाई बरामद गरेको छ ।

बालकका बुबा जयदेव फरार थिए । तर अहिले उनी पनि पक्राउ परेका छन् ।

प्रहरीले तीनै जनाविरुद्ध मानव बेचबिखन मुद्दा दर्ता गरी घटनाको अनुसन्धान गरिरहेको छ ।

जयदेव दम्पतीका छिमेकीबाट प्राप्त जानकारीका आधारमा यस विषयमा जानकारी प्राप्त भएको प्रहरी स्रोतले जनाएको छ ।

जयदेवको आठ महिनाको बालक केही दिनदेखि नदेखेको र घरबाट रोएको आवाज पनि नआएको छिमेकीले प्रहरीलाई बताएका थिए । दम्पतीको हाउभाउमा पनि परिवर्तन आएको देखिएको छिमेकीले प्रहरीलाई बताए ।

आर्थिक सङ्कटबाट गुज्रिरहेको दम्पतीको हातमा आइफोन देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *