मलेसियामा एकहप्ता भित्रै ८ नेपाली श्रमिकको मृत्यु, ती मध्य ५ जनाको मृत्यु आत्महत्या !

News

क्वालालम्पुर (मलेसिया):= यसै हप्ताभित्रमा मलेसियामा कार्यरत ५ जना नेपाली श्रमिकको आत्महत्याको कारण मृत्यु भएको, एकजना नेपालीको सडक दुर्घटनामा परि मृत्यु भएको , एकजना नेपालीको चाहिँ सुत्यासुत्यै भएर र अर्को एकजना नेपालीको चाहिँ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको गरेर जम्मा ८ जना नेपाली श्रमिकको मृत्यु भएको घटना बाहिर आएको छ।

मलेसियामा विभिन्न कारणबस मृत्यु हुने हरुमा क्रमश :

मलेसियाको जोहोरबारुमा अवस्थित एक म्यानुफ्याक्चरिङ कम्पनीमा कार्यरत सल्यान जिल्ला निवासी नरेश रानाले आफू बस्ने कोठामा रहेको सिलिङ पङ्खामा झुन्डिएर आत्महत्या गरेको सोही कम्पनीमा काम गर्ने एक नेपालीले बताएको छ।

यहीँ मिति सन् २०२१/०१/१३ तारिखको दिन नरेशले पङ्खामा झुन्डिएर आत्महत्या गरेको जनाएको छ। हाल मृतक नरेश रानाको शव पोस्टमार्टमको लागी स्थानीय अस्पतालमा लगिएको जानकारी प्राप्त भएको छ।

त्यस्तै मलेसियाको पेनाङ भन्ने ठाउँमा अबैधानिक हैसियतमा कार्यरत नेपाल ठेगाना पाँचथर जिल्ला निवासी यम कुमार खतिवडा पनि आफ्नै रुममा पङ्खामै झुन्डिएर आत्महत्या गरेको अवस्थामा फ़ेला परेको जनाएको छ। हाल मृतक खतिवडाको शव स्थानीय प्रहरीले पोस्टमार्टमको लागी स्थानीय अस्पतालमा लगिएको जनाएको छ।

त्यस्तै एक सेक्युरिटी कम्पनीमा मलेसियाको केलाङ क्षेत्रमा सुरक्षागार्डमा कार्यरत नेपाल ठेगाना ताप्लेजुङ जिल्ला मेरिङदेन गाउँपालिका निवासी बिरुलाल लिम्बू पनि यहीँ मिति २०२१/०१/१२ तारिख,मंगलबारको दिन टोईलेटमा झुन्डिएको अवस्थामा आत्महत्या गरेको फेला परेको सोही कम्पनीमा कार्यरत एक नेपाली श्रमिकले बताएको छ।

हाल बिरुलालको शव पोस्टमार्टमको लागी स्थानीय अस्पतालमा लगिएको र घटना आत्महत्या हुन कि हत्या हुन भन्ने बारे स्थानीय प्रहरीले समेत अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ।

त्यस्तै मलेसियामै कार्यरत नेपाल ठेगाना सर्लाही जिल्ला मझुरवा निवासी मनोज राउत पनि रुमको पङ्खामा झिन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको जनाएको छ। मृतक मनोज राउत अबैधानिक हैसियतमा मलेसियामा बसोबास गरिरहेका थिए। हाल उनको शव पोस्टमार्टमको लागी स्थानीय अस्पतालमा लगिएको मृतकको साथीले जानकारी दिनुभएको छ।

त्यस्तै मलेसियामै एक सेक्युरिटी कम्पनीसंग आबद्ध रहि सुरक्षागार्डको रुपमा कार्यरत नेपाल ठेगाना नुवाकोट निवासी चित्र बहादुर भट्ट को पनि मृत्यु भएको छ।

मलेसियाको राजधानी नजिकै आम्पाङ क्षेत्रमा सुरक्षागार्डको रुपमा कार्यरत भट्टको कार्य क्षेत्रमै बस्याबस्यै अच्चानक मृत्यु भएको प्रत्यक्षदर्शी अर्का एक नेपालीले बताएको छ। हृदयघातको कारण भट्टको मृत्यु भएको हुन सक्ने आशँका गरिएको छ।

त्यस्तै यता मलेसियामै एक कम्पनीमा कार्यरत नेपाल ठेगाना सोलुखुम्बु जिल्ला निवासी प्रेम बहादुर बिश्वकर्माको उपचारको क्रममा मृत्यु भएको छ। बिगत डेढ दुई महिनादेखि सिकिस्त बिरामी परेका प्रेम बहादुरलाई उनकै नेपाली साथीहरुले नै मिलेर थप उपचारको लागी क्वालालम्पुर अस्पतालमा भर्ना गरेका थिए, तर अस्पतालमै उपचारको क्रममा मृत्यु भएको एक नेपालीले बताएको छ।

ती नेपालीले बताए अनुसार अस्पतालमा उपचाररत प्रेम बहादुरको टाउकोमा रगत जमिएको , किड्नीमा समस्या देखिएको लगायतको रोगबाट ग्रस्त रहेको देखिएको डाक्टरले बताएको कुरा मलाया खबरलाई जानकारी गराउनुभएको छ। हाल उनको शवको पोस्टमार्टम सकिएर नेपाल फर्काइने तयारी भैइरहेको जनाएको छ।

त्यस्तै आज मिति सन् २०२१/०१/१६ तारिखको दिन मलेसियाको साहआलम सेक्सन यु १ मा बिगत ३ वर्षदेखि एक कम्पनीमा कार्यरत नेपाल ठेगाना अछाम जिल्ला घुघरकोट साँफे नगरपालिका १० निवासी कमल कुमार खड्काले आफ्नै रुममा घाँटीमा पासो लगाई झुन्डिएको अवस्थामा मृत् फेला परेको संगै एउटै कम्पनीमा काम गर्ने नेपाली श्रमिकले नै बताएको छ।

कमलले हिजो शुक्रबार राति आफ्नै कोठामा आत्महत्या गरेको भनिए पनि हत्या हुन कि ? आत्महत्या हुन ? भन्ने बारे स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको र मृत शव पोस्टमार्टमको लागी स्थानीयअस्पतालमा लगिएको जानकारी प्राप्त भएको छ।

सामाजिक तथा कलाकारिता क्षेत्रमा सक्रिय मृतक कमलको सहकर्मी हरु सँग सम्पर्क गर्दा कमल एकजना नेपालमै रहेको युवतीको प्रेम सम्बन्धको कारण आत्महत्या गरेको आँकलन गर्न सकिने बताएको छ।

[ तस्बिरमा कमल कुमार खडकाले आत्महत्या गर्नु अगाडि आफ्नो प्रेमिकाको नाममा लेखेको पत्र ]
खडकाले कल्पना नाम गरेकी प्रेमिकालाई पत्र लेखेर देहत्याग गरेको पाइएको उनीसँगै कार्यरत डीएस थापाले जानकारी दिए । उनका अनुसार मृतक खडकाले आफ्नो घरपरिवारमा रहेका आफन्तको नाम र नम्बर लेखेर छोडेका छन् ।

त्यस्तै मलेसियामाबाट नेपाल स्वदेश फर्किनको लागि तेरेङ्गानु राज्यमा अवस्थित अध्यागमन बिभागको कार्यालयमा जाँदै गर्दा यहीँ मिति सन् २०२१/१२ तारिख, मंगलबारको दिन बिहानको समयमा मलेसियाको सडक दुर्घटनामा परि एकजना नेपाली श्रमिकको मृत्यु भएको हो।

सडक दुर्घटनामा परि मृत्यु हुनेमा नेपाल झापा जिल्ला निवासी नेपाली श्रमिक सतल सिंह मेचे हुन। हाल उनको मृत् शव पोस्टमार्टमको लागी स्थानीय अस्पतालमा लगिएको जनाएको छ।

अचम्म त के भने , यी ५ वटा आत्महत्याको घटनाहरु मध्यको टोईलेटमा झुन्डिएको अवस्थामा फेला परेका बिरुलाल लिम्बू बाहेकका पासो लगाएर आत्महत्या गरेको ४ जना सबैको मृत्युको कारण श्रीमति संगको आपसी झै-झगडा र महिला,युवती हरुसंगको नैतिक,अनैतिक प्रेम सम्बन्धनै रहेको खुल्नमा आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *