४ वर्षीया बालिकालाई साढे ३ घण्टासम्म कक्षा काेठाभित्र ताला लगाएर थुनेपछि…

News

सल्यान : बागचाैर नगरपालिका वडा नम्बर १० भाट्भिटे निवासी पवनराज केसीकी ४ वर्षकी छाेरी सिमा केसीले गाउँमै रहेकाे सरस्वती नमूना आधारभुत विद्यालयमा कक्षा १ मा पढ्छिन् । सधैजस्तै उनि मंगलवार पनि स्कुल गएकी थिइन् । साे दिन उक्त स्कुलमा दिउँसाे साढे २ बजेसम्म पढाइ भयाे र साढे २ बजे बिदा भयाे ।

स्कुल बिदा भएपछि सबै विद्यार्थी घर गए । ४ वर्षीया सिमा केसी भने कक्षाकाेठा भित्रै निदाएर सुतेकी रैछिन् । शिक्षकहरुले सबै कक्षा काेठा ताला लगाएर घरतर्फ गए । साँझ अवेरसम्म छाेरी घर नआएपछि पनवराजले छाेरीकाे खाेजीकार्य गरे ।

पवनराजले जिल्ला प्रशासन कार्यालय फाेन गरे र प्रहरी सहित साँझ ६ बजे स्कुल पुगे । स्कुल पुग्दा ४ वर्षीया सिमा कक्षा काेठाभित्र राेइ कराइरहेकाे अवस्थामा सुनियाे । घर जाने समयमा करिब साढे ३ घण्टासम्म काेठाभित्र थुनिएपछि सिमाका बुबा पवनराज स्कुलकाे चरम लापरबाही भएकाे भन्दै आक्राेश व्यक्त गरेका छन् ।

लेकाली अनलाइनसँग कुरा गर्दै उनले भने, ‘एउटा अवाेध बालिकालाइ यसरी घण्टाैंसम्म कक्षाकाेठाभित्र थुन्दा कस्ताे मानसिकता हुन्छ ?’ स्कुल बिदा हुँदा आफ्नी छाेरी कक्षाकाेठा सुतेकाे अवस्था भएपनी बाहिर ढाेकामा चप्पल भएकाे तर ती चप्पलकाे समेत ख्याल नगरेर शिक्षकहरुले ताला लगाइदिएकाे उनले बताए ।

साे स्कुलमा यसभन्दा पहिला पनि यस्तै खालका अन्य दुइवटा घटना भएकाे र अझैपनि विद्यालयले लापरबाही गर्ने गरेकाे उनकाे भनाइ छ । यता विद्यालयले भने भुलबस त्यस्ताे भएकाे प्रतिकृया दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *